मोबाइलको फरक ट्युन (लघुकथा)

 मोबाइलको फरक ट्युन

                                                                                                           – नेपालहरि रानाभाट

धेरै पछि एउटा पुरानो अतीत मेरो सामु सजीव बनेर आयो । फेसबुकले बिर्सिसकेको यादलाई फेरि ताजा बनाइदियो । करिब १४ वर्षपछि भिडियो कल गर्दा मैले पहिलो पटक उसको अनुहार स्क्रिनमा देखें । उसको जीउडाल हल्का बाक्लिएको भए पनि भावभङ्गी, मुस्कान र चेपारो पार्ने तरिकामा बिल्कुल अन्तर थिएन ।

‘माइगड ! कहाँ थियौ अहिलेसम्म ? तिमीलाई कहिल्यै मेरो याद आएन है ?  कति धेरै स्वार्थी र निष्ठुरी रहेछौ तिमी त । म भने तिमीलाई कहाँ मात्रै खोजिनँ । कति जनासँग सोधें तिम्रो बारेमा । तिमी कहाँ छौ ? के गर्दै छौ ? कस्तो बिहे गर्‍यौ ? बालबच्चा कति भए ? म सप्पै ख्याल गर्छु तिम्रो तर तिम्लाई भने मेरो केही मतलब छैन है ?’ पहिलो भिडियो कलमा एकै सासमा उसले यो सबै भनिसिध्याई । म चुपचाप थिएँ । केही जवाफ दिन सकिरहेको थिइनँ । के बोल्ने के नबोल्ने अलमलमा थिएँ । 

विस्फारित आँखाले मतिर हेर्दै भनी, ‘मलाई एक जना साथीसँग अर्जेन्ट काम पर्‍यो । माइन्ड नगर्नू ल । सरी फेरि कुनै अर्को दिन भेटौंला नि ।’ 

    उसको बोली सकिएपछि मैले भनेँ, ‘सम्झना त हुन्छ नि ! नभए फेसबुकमा कसरी भेट हुन्थ्यो त ? छोडिदेऊ यी सबै कुरा । अब भन तिमीलाई आरम त छ नि ? अनि कहाँ के गर्दै छ्यौ अहिले ?’ ऊ अलि सम्हालिएर भनी, ‘अँ हेर न बिहे भइहाल्यो अनि उसले जापान जाने चाँजोपाँजो मिलायो । १२ वर्ष उतै बसेर अलिकति जम्मा भएको पैसाले काठमाडौमा एउटा घर बनाएका छौं । बैङ्कहरूमा शेयर छ । म चाहिँ एउटा सहकारीको म्यानेजमेण्ट हेर्ने गरेको छु । ल ठीक छ । यो भिडियो कलमा धेरै कुरा नगरौं । हामी दुवैको परिवार छ । यो संवादले हाम्रो पारिवारिक जीवनमा कुनै समस्या आउनुहँुदैन । बरू कुनै दिन मेरै अफिसमा बसेर कफी पिउँला । अहिलेलाई बिदा हौँ है त ।’ मैले फोन राखिदिएँ । उसले तुरून्तै कल ब्याक गरी मैले उठाइनँ । अफिसको कामले अलि व्यस्त पनि थिएँ । सायद उसलाई गफ गर्ने धोको पुगेको थिएन होला । मैले म्यासेज गरिदिएँ, ‘प्लिज म अहिले व्यस्त छु । कुनै अर्को दिन कुरा गरौंला ।’ जवाफमा उसको लामो रिप्लाइ आयो । म्यासेजमा हल्का माया अलि बढि घुर्की र निकै धेरै तिर्सना थियो । सर्सर्ती पढें र डिलिट गरिदिएँ ।

   मेरो प्रोफाइलमा हरियो बत्ती बल्नै हुँदैनथ्यो । जुनसुकै बेला टिङटिङ म्यासेजको आवाज आउँथ्यो । तुरून्तै रिप्लाई गरेन भने भिडियो कल झ्याप्पै । उमेरले ४० काटिसकेको थियो । न प्रेम गर्न सुहाउने न डेटिङ जान । बिलखबन्दमा परें म । अब यो सम्बन्धको व्यवस्थापन कसरी गर्ने होला ? 

   एक दिन शुक्रबारको दिन पारेर अफिसबाट सिधै बिच बजारको रेष्टुरेण्टमा भेट्ने योजना बन्यो । धेरै पछि भौतिक शरीर नजिक हुने क्षण स्वाभाविक रूपमा कौतुहुलता त हुने नै भयो । म पुग्दा रेष्टुरेण्टको क्याबिन कर्नरमा ऊ पहिल्यै विराजमान थिई । हल्का मुस्कानले मलाई स्वागत गरी । म उसको सामुन्नेमा बसें । उसले अगलबगलमा सँगै बस्ने आग्रह गरी । मलाई अप्ठ्यारो लाग्यो तर उसको जोडमा मेरो केही लागेन । मेनु हेरेर अर्डर पठाइयो । उसको शरीरको पफर््युमले मलाई भाउन्न बनाइरहेको थियो । श्रीमान्को कल आयो, ‘अफिसको मिटिङमा छु । अलि ढिला हुन्छ होला’ भनेर सम्झाई । हाम्रो भलाकुसारी सुरू भयो । यत्तिकैमा फेरि उसको मोबाइलमा फरक ट्युनको घण्टी बज्यो । ऊ आश्चर्यमिश्रित आवाजमा बोल्दै थिई, ‘माइगड, आज फ्राइडे हो र ? मलाई त यादै भएन यार । ल ल म तुरून्तै आउँछु ।’ विस्फारित आँखाले मतिर हेर्दै भनी, ‘मलाई एक जना साथीसँग अर्जेन्ट काम पर्‍यो । माइन्ड नगर्नू ल । सरी फेरि कुनै अर्को दिन भेटौंला नि ।’ ऊ हतार हतार मोबाइलमा कुरा गर्दै बाहिर निस्की । मेरो आँखाले उसको बाटो पछ्याउँदै थियो । यस्तैमा वेटर दुवै जनाको लागि अर्डर गरेका परिकारहरू लिएर सामुन्नेमा ठिङ्ग उभियो । टेबलमा राखिएका छरपष्ट परिकारहरूले मलाइ जिस्काइरहेको भान भयो । किंकर्तव्यविमूढ भएर म एकोहोरो टोलाइरहें । अनायासै शरीरका ज्ञानेन्द्रियबिच आपसी सम्बन्ध टुटे जस्तो लाग्यो । आँखाहरु भित्तामा एकोहोरो टाँसिए । खोइ किन हो, टेबलमाथि परिकार देखेर पनि मुख रसाएन । उसको विचित्र तिर्सनालाई बुझ्न नसकेर मन भने अन्त कतै बुर्कुसी मार्दै थियो । सोचाइमा उसको चारित्रिक आकृतिका धुमिलो छालहरु तरङ्गित हुँदै गए तर कानमा भने एकोहोरो उसको मोबाइलमा बजेको त्यो फरक ट्युन गुञ्जिरह्यो, गुञ्जिरह्यो अबेरसम्म निरन्तर । 

कालीको सुसेली, लघुकथा विशेषाङ्कबाट साभार


Post a Comment

0 Comments